Blog

  • बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

    बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

    पर्वत, ८ फागुन
    हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

    अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गरेका छन् । “दिनभर सबै मिलेर बाँदर धपाउँछौँ”, फलेबास–३ का तुलसी सापकोटाले भन्नुभयो, “रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन, रातिमा सधैँ बस्न पनि सकिँदैन ।”

    बाँदर, दुम्सीलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा–१० पिपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताउनुभयो । “बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।”

    आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्कलगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । “अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ”, बाँसखर्कका जगत्बहादुर खत्रीले भन्नुभयो, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्क्याउँछ ।” उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जङ्गली जनावरले सखाप पार्न थालेपछि कृषक पिरलोमा परेका हुन् ।

    कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतङ्कले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गत वर्ष आलुखेतीबाट रु १० करोड भित्र्याएका महाशिला–२ भोक्सिङका किसानले यसपालि बाँदर आतङ्ककै कारण भित्र्याउन नपाएको बताएका छन् । भोक्सिङका जीतबहादुर गुरुङका अनुसार असोजदेखि नै हुलका हुल आउन थालेका बाँदर अहिलेसम्म दैनिकजसो आसपासका जङ्गलमै बसेपछि धेरै किसानले आलु नै लगाएनन् । “बाँदरले नछाडेपछि जोगाउन सकिँदैन भनेर धेरैले आलु लगाएनन् ।”

    किसानले खेती स्याहारेर खानै नसकेको गुनासो गरेपछि केही स्थानीय तहले बाँदर नियन्त्रणका योजना ल्याएका थिए । महाशिला र पैयुँ गाउँपालिकाले आव २०७५÷७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन । महाशिलाले पहिलो वर्ष करिब एक हजार ५०० बाँदर नियन्त्रण गरेको भए पनि चौतर्फी आलोचनापछि स्थगन गरिएको थियो । (रासस)

  • मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

    मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

    गलकोट, ८ फागुन –
    नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ ।

    जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन । छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।

    गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आश पलाएको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा बेस विच्छ्याउने कार्य भइरहेको छ, भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल विच्छ्याउने कार्य भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

    मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिन थालेको बताउनुभयो । “अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नु अघिका काम भइरहेको छ, सवबेश विच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ”, उहाँले भन्नुभयो, “उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेकोछ, निर्माणको काम लगभग सकिएको छ, असारअघि कालोपत्र सक्ने गरी आयोजना लागिपरेको छ ।”

    यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति भएको छ ।

    बिहुँ खण्डमा चार किलोमिटर सडक एक पटक कालोपत्र गरिएको, फेरि डकल गर्ने तयारी छ, छ किलोमिटर सडकमा बेस विच्छ्याइसकेको दुई किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको बिहुँ घोडाबाँधेको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । “सुरुमा कच्चापदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्र गर्न मौसमले साथ दिएको छैन अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैतसम्म नसके असारसम्म कालोपत्र गरेरै छोड्छौं”, उहाँले भन्नुभयो, “अहिले कामलाई तीव्रता दिएका छौं, केही परिणाम आउनेगरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।”

    यस्तै मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छ्याउने काम भइरहेको छ । चार महिनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएका भारत/सिद्धिसाई कम्पनीले जनाएको छ । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । तीमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

    बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमि सडक खण्डकालोपत्र नहुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् । (रासस)

  • कतारबाट फर्किनुभएका तनहुँ निवासी हेमबहादुरको उखु र मेवा खेती

    कतारबाट फर्किनुभएका तनहुँ निवासी हेमबहादुरको उखु र मेवा खेती

    तनहुँ, ८ फागुन –
    कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गर्नुभएका उहाँले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लाग्नुभएको हो । व्यास नगरपालिका–११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गर्नुभएको हो ।

    करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उहाँले बताउनुभयो । सुरुमा रु नौ लाख लगानी गरी व्यवसाय थालेको बताउनुहुने लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिनुभयो । पाँच महिनाको अवधिमा उखु करिब रु डेढ लाख र मेवा रु ५० हजारभन्दा बढीको बिक्री गरिसकिएको उहाँको भनाइ थियो । चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ ।

    उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ । किसान लामाको व्यास नगरपालिका–३ अनशन चौतारीमा लामा फलफूल तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ ।

    सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ । एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिनुभयो । फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै आफू पनि दैनिक काम खट्ने गरेको उहाँले बताउनुभयो । अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन् । बाबु जयबहादुरले भन्नुभयो, “फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ ।”

    दुई छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । उखु प्रतिढकको रु ५० र मेवा प्रतिकिलो रु ८० मा बिक्री गर्ने गरिएको छ । उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो । उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको रु एक लाखसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो ।

    उखु जन्डिस रोगका लागि उपयुक्त हुने भएकाले त्यसलाई पेलेर करिब एक सय लिटर खुदो बनाएर राखिएको छ । लामाले भन्नुभयो, “खुदो प्रतिमाना रु ६०० मा बिक्री गर्ने गरिएको छ ।” फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको बताइएको छ । (रासस)

  • धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

    धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

    रामपुर, ९ फागुन –
    धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

    धवल पुस्तकालय पाल्पाद्वारा स्थापित सो पुरस्कार वरिष्ठ साहित्यकार एवं प्राज्ञ बुद रानाले पुरस्कृत न्यौपाने र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । धवल पुरस्कार २०७७ बाट वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कार २०७७ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठलाई सम्मान गरियो । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

    पूर्वखोला–३, रिङनेरह बस्ने साहित्यकार न्यौपाने भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र अठार महापुराणका वाचकसमेत हुनुहुन्छ भने सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठ तानसेन– ३ का हुनुहुन्छ । श्रेष्ठले पाल्पाको इतिहासमा कला संस्कृतिमा कलम चलाउदै आउनुभएको छ ।

    धवल पुस्तकालयले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभामा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालयका अध्यक्ष युवराज पौडेलले बताउनुभयो । पुस्तकालले अब प्रत्येक वर्ष प्रजातन्त्र दिवसका दिन धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ ।

    विसं १९८३ मा स्थापना भएको सो पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टङ्कप्रसाद भट्टराई रहेको सिफारिस समितिले पुरस्कारका लागि वरिष्ठ साहित्यकार न्यौपाने र लेखक श्रेष्ठको नाम छनोट गरेको थियो । (रासस)

  • स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

    चितवन, ९ फागुन –
    पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् ।

    पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन् । ईच्छाकामना गाउँपालिका बाहेक नेतृत्व नेपाली कांग्रेसको छैन । उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन् । प्रमुखमा दुई माओवादी केन्द्र र चार नेकपा एमालेका छन् । निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा धेरै छन् । केहीको मनसाय उपप्रमुख नै दोहो¥याउने छ ।

    आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उहाँको दाबी छ ।

    महिला सङ्घ चितवनकी अध्यक्षसमेत रहनुभएका ठकुरीले पार्टीले आफूलाई प्रमुखको टिकट दिनेमा विश्वस्त रहेको बताउनुभयो । यसअघि भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादीका तर्फबाट रेनु दाहाललाई समर्थन गरेर उपप्रमुखमा ठकुरीले टिकट पाउनु भएको हो । केन्द्रीय गठबन्धनको टुङ्गो लागिसकेको छैन । कांग्रेसभित्रबाटै प्रमुखमा अन्य नेताको पनि दाबी छ ।

    रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताउनुभयो । नेकपा (एमाले) बाट निर्वाचित उहाँले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपप्रमुखमा दोहो¥याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो ।” पार्टीले आफूलाई अवसर दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । पाँच वर्षको आफ्नो अनुभवलाई उपयोग गरेर नगरपालिकामा काम गर्ने दुवाडीले बताउनुभयो । उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवं अनेमसङघका उपाध्यक्ष हुनुहुन्छ । नेकपा एमालेबाट रत्ननगरमा प्रमुखका अन्य दाबेदार पनि छन् ।

    माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उहाँको दाबी छ । नगरपालिकामा पार्टीका तर्फबाट अन्य नेता पनि आकांक्षी छन् । सो नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकालले जितेको भए पनि उपप्रमुखमा एमालेका तर्फबाट महतो निर्वाचित हुनु भएको हो ।

    राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताउनुभयो । पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ, जित हासिल गर्न पनि सहज छ ।” सो नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा अन्य उम्मेदवारको पनि दाबी रहेको छ । नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसमेत रहनुभएका लामाले उपप्रमुख भएर आफूले पूर्णरुपमा काम गरेकाले अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

    जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु ।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हाँसिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी भूभाग भएकाले भूगोलको पूर्ण ज्ञानसहित अबको नेतृत्व मैले गर्न सक्छु ।” सो गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट अन्यको पनि दाबी रहेको छ ।

    खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताउनुभयो । उहाँले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताउनुभयो । गएको चार वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउन उपप्रमुखतर्फबाट आफूले गरेको योगदान नगरवासीलाई छर्लङ्ग रहेको उहाँको भनाइ छ । उहाँ नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुनुहुन्छ ।

    कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहो¥याउने चाहना राखेको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु ।” उहाँ नेकपा (एमाले) बाट उपप्रमुखमा निर्वाचित हुनुहुन्छ ।

    जिल्लाका अधिकांश पालिकाका प्रमुख र अध्यक्ष पुनः दोहो¥याउने चाहनामा हुनुहुन्छ । पार्टीको निर्णय भइनसकेकाले उनीहरु उम्मेदवारीको घोषणा गरेका छैनन् । तर पार्टीमा भित्री रुपमा उनीहरुले लविङ सुरु गरेका छन् । केन्द्रीय र स्थानीयस्तरमा हुने गठबन्धनले पालिकामा प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुङ्गो लाग्ने धेरैको बुझाइ छ । चाहना व्यक्त गरे पनि यसका लागि पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीको निर्णय स्वीकार्ने पक्षमा सबै देखिएका छन् । (रासस)

  • वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

    वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

    वाशिङ्गटन डिसी, ९ फागुन –
    नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झण्डोत्तोलन गर्नुभयो । कार्यक्रममा खरेलले अमेरिकामा बस्दै आउनुभएका नेपालीलाई शुभकामना सन्देश दिनुभएको थियो ।

    यसैगरी महावाणिज्य दूतावास न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गान, दीप प्रज्जवलन र झण्डा फहराइएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले प्रजातन्त्र दिवसको महत्व र देनमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । (रासस)

  • पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

    पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

    काठमाडौँ, ९ फागुन –
    युवककवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविशिरोमणि लेखनाथ पौड्याललगायतसँग अन्तरङ्ग कुराकानी गरी प्रकाशमा ल्याएका छन्, आचार्यबारे पनि लेखेका छन् । प्रख्यात निबन्धकार शङ्करनाथ लामिछानेले साहित्यकार, सङ्गीतकार आदिसँगको हिमचिमलाई ‘विम्ब–प्रतिविम्ब’मा उतारेका छन् । ‘रूपरेखा’का सम्पादक उत्तम कुँवरले त साहित्यकारको अन्तर्वार्ता समेटिएको ‘स्रष्टा र साहित्य’ (२०२३) शीर्षकको ग्रन्थका लागि सोही साल मदन पुरस्कार नै प्राप्त गरे । पत्रकार देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’ (२०६२) पनि चर्चित रह्यो । पत्रकार एवं साहित्यकार श्री ॐ श्रेष्ठ रोदनले हालै विभिन्न स्रष्टा, चिन्तक एवं साहित्यकारका विषयमा निबन्ध तयार गरी ‘अभिवन्द्य’ कृति नै ल्याउनुभयो । साहित्यकार–गीतकार–सङ्गीतकार आदि स्रष्टासँगको भेटघाटलाई लिपिबद्ध गरी प्रकाशमा ल्याउने काम अचेलका अनलाइन न्युज पोर्टलले पनि निकै गरेका छन् ।

    लेखक, साहित्यकार एवं स्रष्टाका दिनचर्या, जीवनी र अभिव्यक्तिले अन्यलाई पनि प्रेरणा दिन्छ नै, ती स्वयंको व्यक्तित्वको चर्चा भई जनमानसमा छाप छाड्छ । यस्तो कामले स्रष्टाको सम्मान वा मूल्याङ्कन स्वतः हुन्छ र पछिल्लो पुस्ता पनि लाभान्वित हुन्छ ।

    साहित्यिक गतिविधि भइरहने हेटौँडामा क्रियाशील उदय अधिकारीले नेपाली साहित्यका विभिन्न विधामा चर्चित ६ साहित्यकारसँग गरेको ‘प्रश्न’(२०७८, शिखा बुक्स) बजारमा आएको छ । चितवनमा जन्मी हेटौँडा सर्नुभएका अधिकारीले नाटककार तथा कवि अभि सुवेदी, कवि, उपन्यासकार तथा नाटककार सरुभक्त, कवि, निबन्धकार तथा पत्रकार श्यामल, कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिलसँगको हिमचिमपछि गरेको अन्तरङ्ग यसमा समेटिएका छन् । हेटौँडा बहुमुखी क्याम्पसका सहप्राध्यापक अधिकारीले करीब एक दशकबीचमा गरेको परिश्रमस्वरूप आएको ‘प्रश्न’मा उल्लिखित नेपाल र विश्वसाहित्यका विविध पक्षले पाठकलाई ज्ञानोदय गराउँछ । आफैँ विभिन्न पत्रपत्रिका एवं अनलाइनमा लेखिरहने कृतिकारले विश्वसाहित्यसँग गरेको एकाकारले हाम्रो क्षितिजलाई पनि फराकिलो गराउँछ । नेपाल र विश्वसाहित्यका गम्भीर अध्येता तथा अनुवाद र अन्तर्वार्ता लिन कहलिनुभएका अधिकारीका ‘प्रश्न’ परिपक्व रहेकाले उत्तरदाताहरू वस्तुगत हुन बाध्य छन् र भाग्न सकेका छैनन् ।

    छ नेपाली साहित्यकारका मुखबाट आएका नेपाली अझ खासगरी विश्वसाहित्यको स्थिति र पढ्नै पर्ने खालका मुख्यमुख्य साहित्यिक कृति, अनुवादको अवस्था, नेपाली समालोचनाको धरातलीय हैसियतले पाठकलाई यथेष्ट ज्ञान दिन्छ । उहिले महाकवि देवकोटाले तासकन्दमा दिएको मन्तव्यमा नेपाली साहित्यको विस्तृत चर्चा थियो भने ‘प्रश्न’ र तिनका उत्तरमा नेपाल र विश्व साहित्य समेटिनु प्रश्नकर्ताको अध्ययनको गहनता हो भन्ने स्पष्ट हुन्छ । कुनै पनि साहित्यकार स्थापित हुनका लागि अध्ययन र विषयको गहिराइको महत्त्व कति हुन्छ भन्ने कुरा प्रस्तुत कृतिले छर्लङ्ग्याइदिन्छ ।

    त्रिविमा अङ्ग्रेजी विषयका प्राध्यापक तथा नेपाली साहित्यमा कविता, समालोचना, अनुवादक, निबन्ध खासगरी पछिल्लो समय नाटक विधामा संलग्न सुवेदीले ‘जीवनमा गरेको एउटै काम भनेको किताब पढ्ने हो ।’ नेपाल विश्वसाहित्यमा आक्रामक ढङ्गले जान हाम्रो सरल, गाउँले, जनजातीय र भौगोलिक कठिन जीवनमा पनि हाँसेर बाँच्न सक्दाको अवस्था तथा यात्रा र स्थानमा भोगिएको अनुभूति उपन्यास वा आख्यान र तीव्र भावनाका गुणस्तरीय कविता दिन सक्नुपर्ने उत्तर उहाँ दिनुहुन्छ । तेह्रथुम, साबलामा भैंसी चराउँदा ढाडमा बसेर पढ्न रुचाउने सुवेदी राजधानी आएपछि हिप्पीसँगको सङ्गतमा पर्ने नामुद साहित्यकार मानिनुहुन्छ ।नेपालका ठूला साहित्यकारसँग भेटघाट गर्ने, युवाहरूसँग रमाउने, चित्रकार–गायक–सङ्गीतकारसँग सङ्गत गर्ने, अखबारी लेखन(नेपाली, अङ्ग्रेजी भाषा) मा संलग्न हुने, घुमिरहने तथा हास्यचेतयुक्त विशेषता पनि राख्ने सुवेदी नेपालमा ‘समर्पित भएर काम गर्ने लेखकहरुको सङ्ख्या थोरै’ भएकामा गुनासो गर्नुहुन्छ ।

    राजनीतिकर्मी, उपन्यासकार, कथाकार, कवि तथा पत्रकार नारायण ढकाल “हाम्रो लेखनको स्तर नउक्सिनुमा सर्जक, पाठक, समीक्षक र साहित्यिक संस्थाहरू, राजनीतिक दलहरू सबैको उत्तिकै मिलिभगत योगदान रहेको” स्पष्ट गर्दै प्रगतिशील लेखक सङ्घमा प्रगतिशील लेखक र स्रष्टाहरू जन्माउने छाँट नभएको देख्नुहुन्छ । उहाँ पनि सुवेदीकै हाराहारीमा ‘आफ्नै इतिहास, संस्कृति र मौलिकतासँग जोडिएपछि मात्र लेखक सफल’ हुने ठान्नुहुन्छ । नेपालमा ‘मार्खेजका प्रवक्ता’ ढकाल ‘मार्खेजले आफ्नो समयको मानिसको इतिहासलाई सौन्दर्य, शिल्प र महान् गद्यको अस्त्रले अभिव्यक्त गरेको’ जनाउँदै कोलम्बियाका ती उपन्यासकारको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ हाम्रो युगको गद्य काव्यमा एउटा महान् गाथा मान्नुहुन्छ ।

    बौद्धिक तथा चिन्तनप्रधान कवि (गीतकार, मुक्तककार पनि), नाटककार तथा उपन्यासकार (लघुकथाकार पनि) सरुभक्त आफैँ धेरै विधामा हात हालेर पनि ‘बहुविधामा साहित्य रचना गरेर असफल हुनुभन्दा एकै विधामा साहित्य रचना गरेर सफल हुनु बुद्धिमानी हो” भन्ने स्वीकार्नुहुन्छ । दोस्रो जनान्दोलनताका नेपाल प्रज्ञा –प्रतिष्ठानका तत्कालीन प्राज्ञ परिषद् सदस्य सरुभक्तलाई आन्दोलनमा सहभागी नभएको आरोप पनि लागेको छ । ‘अहं शून्यवाद’ का प्रवत्र्तक कुनैबेलाका ‘भक्तराम श्रेष्ठ’ पूर्वीय दर्शन र साहित्यमा ‘महाभारत’, ‘रामायण’देखि माक्र्सको ‘दास क्यापिटल’(पुँजी) र स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सम्मलाई मन पराउनुहुन्छ । ‘विश्व साहित्यको अध्ययनबाट हामीले समसामयिकतामा शाश्वतता, शाश्वततामा समसामयिकता, प्रयोगगत विश्वसनीयता, विषयगत गाम्भीर्यजस्ता कुरा सिक्न’ सकिने सुझाव यी विज्ञान कथाकार नेपाली साहित्यकार–पाठकलाई दिनुहुन्छ । आफ्नो रचनामा संसार रहेको तर समाज नरहेको आरोप खेपिरहनुभएका यी लेखकले त्यस्तो भन्ने समालोचकहरूले आफ्नो समालोचनाको पनि समालोचना हुन्छ भन्ने बिर्सेको भनी उल्टै आलोचना गर्दै समसामयिकतामै रुमलिने साहित्य दीर्घजीवी नहुने ठोकुवा गर्नुहुन्छ । ‘कुमार’ लेखकसँग अविवाहितावस्था र साहित्यको सम्बन्धबारे सवाल गर्न सकिन्थ्यो, जसलाई कृतिकारले छुटाएका छन् ।

    कवि, निबन्धकार श्यामल थोरै लेखेर चर्चित हुनेमा पर्नुहुन्छ । नेपालको दुर्गममध्ये एक मानिने दैलेखमा पण्डित परम्पराको खानदानमा जन्मी त्यहाँको काव्यमय लोकजीवनबाट प्रेरित उहाँमा जर्मनेली कवि बर्टाेल ब्रेख्तलाई नेपालमा भित्र्याउने श्रेय पनि जान्छ । राम्रो अनुवादले मौलिक कृतिको प्रभाव र क्षमतालाई कयौँ गुणा वृद्धि तथा विस्तार गर्ने मान्यता राख्ने अनुवादक श्यामल यस क्षेत्रमा कठोर परिश्रम गर्न नसक्नेहरूले विकृत अर्थ सम्प्रेषण गरेर हास्य र वैराग लगाएको तीखो टिप्पणी पनि गर्नुहुन्छ । भूपी शेरचनलाई कवितामा हाम्रा आदर्श मान्दै उहाँसँग बहुत सङ्गत गर्ने प्रगतिशील कवि श्यामल कुनै दलविशेषमा आबद्ध हुँदैमा प्रगतिशीलता नआउने बरु लेखेर वा सशरीर आन्दोलनमा होमिने शतप्रतिशत जनपक्षधरतामा जोड दिनुहुन्छ । हाल राष्ट्रिय समाचार समितिका अध्यक्ष पुराना पत्रकार हरिहर अधिकारीलाई पत्रकारितासँग सम्बन्धित केही ‘प्रश्न’ गर्न भने अन्तर्वार्ताकार चुक्नुभएको छ ।

    उल्लिखित वरिष्ठ साहित्यकारका तुलनामा तन्नेरी कवि तथा नाटककार श्रवण मुकारुङ र कवि तथा अनुवादक मनु मञ्जिल पनि ‘प्रश्न’का घेरामा पर्नुभएको छ । हेपिएका आवाजलाई सुनिन बाध्य पार्ने कवि मुकारुङ भावना, ज्ञान र विवेकको समग्र रूप नै बौद्धिकता भएको ठोकुवा गर्नुहुन्छ नकि अपरिचित मिथक र प्रतीकको प्रयोग तथा जटिलता । अस्तित्वमा सुन्दर कुरा थप्न नै आफूले कविता र गीत लेखिरहेको बताउने मञ्जिल भने कवितालाई अलोकप्रिय बनाउने काम कविबाट हुन नहुनेमा जोड दिनुहुन्छ ।

    यसरी प्रश्नकर्ताले आफूले अत्यन्तै जितेका, मन–मुटु छामेका र आफूले तिनका रचनासहित पर्गेलेका साहित्यकारसँगको पुरानो सम्बन्धलाई उपयोग गरेर प्रस्तुत गरेको कृतिले गम्भीर लेखकलाई तान्छ नै, नवपाठकलाई पनि साहित्य ख्यालख्यालको क्षेत्र होइन रहेछ भन्ने सन्देश पक्कै दिन्छ । कृतिमा लामा ‘प्रश्न’ले लामै उत्तर पाएका छन् । अन्तर्वार्ता लिइएका लेखकहरूले आफूले पढेका धेरै साहित्यकार र कृतिको नाम लिएकाले पाठकलाई ‘प्रश्न’ ‘सन्दर्भ ग्रन्थ’ नै बन्ने ठोकुवा गर्न सकिन्छ । नारी लेखकहरूसँग त्यस्तै अनौपचारिक हिमचिम नभएकाले होला, कृति लैङ्गिक दृष्टिले एकपक्षीय हुनु स्वाभाविक छ । धेरै गम्भीर पाठक अधिकारीको वर्णविन्यासमा भने यति धेरै गल्ती क्षम्य हुन सक्दैन, किनभने एकै लेखकका नाम पनि विभिन्न पानामा फरक फरक लेखिएको छ भने चलनचल्तीमा आउने थुपै्र्र शब्द विकृत भएका छन् । कृतिको नाम र आवरणले भने पाठकको ध्यानाकर्षण गर्छ भने विश्वास लिन सकिन्छ । (रासस)

  • क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

    क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

    काठमाडौँ, ९ फागुन –
    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा रु ८१ करोड जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम आउँछ ।” मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ ।

    पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत रु दुई करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा रु ८१ करोड रकम जम्मा भएको हो ।

    विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ । यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ । अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । (रासस)

  • नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

    नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

    वासिङ्गटन डिसी, ९ फागुन –
    अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् ।

    शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका छन् ।

    सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो । यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताउनुभयो ।

    चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
    विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउनुहुन्छ ।

    अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन् ।”

    उहाँले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म पु¥याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पु¥याउन सजिलो भएको जानकारी दिनुभयो । (रासस)

  • भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

    भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

    – रमेश लम्साल
    काठमाडौँ, ९ फागुन –
    सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र भएको देशले विप्रेषणबाट आएको डलर खर्च गरेर तेल खरिद गर्ने विषय अब क्रमशः अप्ठ्यारो बाध्यता बन्न थालेको छ ।

    यो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले नै काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी क्षेत्रमा बिजुलीको सघन पहुँच स्थापित गर्ने लक्ष्यका साथ गुरुयोजना बनायो । सो गुरुयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तय अध्ययनसहित प्रसारण प्रणालीको खास मार्गचित्र तयार पारेको हो । ग्रीड कम्पनीले देशभर विशेष गरी ठूला पाँचवटा हव स्टेशन बनाउने सुझाव दिएको छ । त्यसलाई क्षेत्रगत रुपमा नदी करिडोरका आधारमासमेत विभाजन गरिएको छ ।

    महाकाली, पश्चिम सेती, तथा कर्णाली करिडोरलाई समेट्ने गरी दोधारा तथा नयाँ अत्तरिया सवस्टेशन निर्माण हुनेछ । त्यसले भारतको बरेली र उत्तराखण्डलाई जोड्नेछ । सो हव स्टेशनमा पञ्चेश्वरको प्रस्तावित तीन हजार २४० मेगावाट, हुम्ला कर्णाली क्यास्केडको ९१६ मेगावाट, पश्चिम सेतीको ७५० मेगावाट, एसआर ६, चैनपुर सेतीलगायतका आयोजनाको बिजुली जोडिनेछ । आन्तरिक खपतको बढावाका अलावा भारत निर्यातका लागि पनि सो हवले सुदूरपश्चिम प्रदेशमा विशेष भूमिका निर्वाह गर्दछ ।

    राजनीतिक दलहरुबीच चर्को विवाद र आइतबारदेखि संसद्मा प्रवेश गरेको अमेरिकी सहयोग परियोजना एमसिसीसँग जोडिएको अर्को हब स्टेशन हो न्यू बुटवल गोरखपुर । यही फागुन ११ र १२ गतेका लागि तय भएको नेपाल र भारतका ऊर्जा सचिवको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका अलावा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो सवस्टेशनमा काली गण्डकी, मस्र्याङ्दी तथा बूढीगण्डकी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली जोडिनेछ ।

    यस्तै माथिल्लो मस्र्याङदी दोस्रो ६०० मेगावाट, काली गण्डकी कोभान ४०० मेगावाट, मनाङ मस्र्याङदी २८२ मेगावाट सोही सवस्टेशनमा जोडिनेछ । न्यू बुटवल गोरखपुर अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत बिजुली आयात निर्यातका लागि मार्ग प्रशस्त हुनेछ ।

    सरकारले तय गरेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमा कम्तीमा पनि पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख छ । बूढीगण्डकी, मस्र्याङदी करिडोरलगायत स्थानमा उत्पादन भएको बिजुली बढी हुँदा त्यसलाई भारत र बङ्गलादेश निर्यात गर्न नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म प्र्रसारण लाइनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसका साथ साथै नेपालले चाहेको स्थानबाट मात्रै विद्युत् निर्यात गर्नसक्ने अवस्था नभएकाले प्रसारण लाइन निर्माण जरुरी देखिएको हो ।

    संसद्मा टेबुल भएको एमसिसी सम्झौताअनुसार प्राप्त हुने हालको मूल्य अनुसार झण्डै रु ६० अर्ब अनुदान र नेपाल सरकारले थप गर्ने झण्डै रु १४ अर्ब बजेटबाट प्रसारण लाइनका अतिरिक्त र सडक पूर्वाधार समेत निर्माण हुनेछ । काठमाडौँको उत्तरपूर्वमा रहेको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौँडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा डबल सर्किट ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

    सो प्रसारण लाइन ३१२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनका अलावा रातमाटे, दमौली र बुटवलमा तीन अत्याधुनिक सवस्टेशन निर्माण हुनेछन् । रातमाटे सवस्टेशनमा नेपाल र चीनबीच निर्माण हुन लागेको रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइनसमेत जोडिनेछ । यसबाट भारत र चीनमा बिजुलीको निर्यातका लागि सबैभन्दा भरपर्दो प्रसारण संरचना निर्माण हुने छ ।

    ऊर्जा उद्यमी प्रकाश दुलालका अनुसार प्रसारण लाइनको आसपास निर्माण हुन लागेका र निर्माणमा जान लागेका आयोेजनाका लागि प्रसारण लाइन जरुरी छ । त्यसकारण प्रसारण लाइन निर्माणको विषयमा राजनीति हुन नहुने उहाँको भनाइ छ । प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि मात्रै ४० करोड अमेरिकी डलर खर्च हुनेछ । त्यसैगरी सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लहमी हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । सो कार्यका लागि एमसिसीबाट प्राप्त हुने अनुदानमध्ये ५.२ करोड अमेरिकी डलर खर्च हुनेछ ।

    एमसिसी कार्यान्वयनका लागि सरकारले स्थापना गरेको एमसिए नेपालका अनुसार बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल र भारत सीमासम्मको करिडोर २२ किलोमिटर प्रसारण लाइन निर्मााणका लागि सहायता उपयोग गरिनेछ । ऊर्जा क्षेत्रको भरपर्दो र एमसिसी लगानीको दिगोपना बढाउन, क्षमता विकासका लागि प्राविधिक सहायतासमेत उपलब्ध हुनेछ ।

    बिजुलीको धेरै माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका सहरलाई समेट्ने लक्ष्य एमसिसी अनुदानमा निर्माण हुने प्रसारण लाइनको छ । न्यू बुटवल सवस्टेशन हुँदै भारतको गोरपुर जोडिने प्रसारण लाइन कूल १४० किलोमिटर लामो छ । त्यसको २० किलोमिटर खण्ड मात्रै नेपालमा पर्छ भने १२० किलोमिटर खण्ड भारतमा पर्छ ।

    सो प्रसारण लाइनलाई सरकारले असाध्यै महत्व दिएको छ । प्रसारण लाइन समान लगानीमा निर्माणका लागि नेपाल र भारतबीच सहमति पनि भइसकेको छ । प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । प्राधिकरणको विद्यमान सवस्टशेन नजिक अर्को सवस्टेशन निर्माण भएपछि विद्युत् व्यापारको अर्को ढोका खुल्नेछ ।

    जानकारका अनुसार बूढीगण्डकी र मस्र्याङदी करिडोरलगायतका स्थानमा निर्माण हुने बिजुली निकासी गर्न नसकिँदा प्राधिकरणले अर्बौ बराबरको रोयल्टी मात्रै तिर्नुपर्ने अवस्था आउनुका साथै निर्यातको लक्ष्यसमेत पूरा नहुने देखिन्छ । नेपाली भूमिमा बन्ने कुनै पनि प्रसारण लाइन, सवस्टेशन निर्माणका लागि कोही कसैको सहमति लिनुपर्दैन । अन्तरदेशीय प्रसारण लाइन भएकाले एक अर्काको सहमति जरुरी रहने प्रावधान राखिएको जानकारको भनाइ छ ।

    एमसिए नेपालका अनुसार प्रसारण लाइनको मार्ग निर्धारण सरकारको विद्युत् नीति र गुरुयोजनालाई आधार मानेर विशेषज्ञ सम्मिलित टोलीले गरेको अध्ययन र अनुसनधानका आधारमा तयार गरिएको हो । यसको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ । एमसिसीले हालसम्म विश्वका ४९ देशमा अनुदान उपलब्ध गराएको छ । सन् २००४ मा स्थापना भएको एमसिसीले २०१७ को अगस्टमा नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

    एमसिसी सम्झौता प्रतिनिधिसभामा आइतबार टेबल गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्दै एमसिसी विकास पूर्वाधारका लागि प्राप्त भएको अनुदान भएको बताउनुभएको थियो ।

    उहाँले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता अक्षुण्ण र अउल्लङघ्नीय रहेको राष्ट्रिय प्रतिबद्धता प्रकट गर्दै, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असङ्लग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता अनुसार कुनै सैन्य सङ्गठनमा सामेल नहुने नेपालको पररष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै, उक्त प्रस्ताव अनुमोदन गरिदिनुहुन म यस सम्मानित सदनसमक्ष प्रस्ताव गर्दछु ।”

    सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्था बमोजिम, मन्त्रिपरिषद्को २०७५ माघ २५ गतेको बैठकले एमसिसी अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेश गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । यद्यपि विकास परियोजना वा करार सम्झौतालाई संसद्मा नलगेको भए पनि हुन्थ्यो भन्ने मत पनि यसबीचमा नउठेको होइन ।

    यो सम्झौतामा हस्ताक्षर हुनुअघि गरिएको अध्ययनले विद्युत् प्रसारण लाइनबाट दुई करोड ३० लाख तथा सडक मर्मत कार्य १० लाख जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने प्रारम्भिक अनुमान गरेको थियो । यी परियोजनाबाट ५० लाख घरधुरी लाभान्वित हुनेछन् । (रासस)