Category: देश/प्रदेश

  • एमसिसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत

    एमसिसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ, ९ फागुन –
    नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ ।

    उहाँले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “एमसिसी सम्बन्धका झुटका पर्दा उघिँ्रदै छन्, अन्तमा सत्य नै हुन्छ ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताउनुभयो ।
    विसं २०६८ यताका सबै दल नेतृत्वका सरकार एमसिसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गर्नुभयो । एमसिसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै उहाँले संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ ।

    ढिलै भए पनि एमसिसीसम्बन्धी प्रस्ताव संसद्मा टेबल भएको बताउँदै उहाँले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उहाँको जोड थियो । झन्डै रु ६० अर्बको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसिसी राष्ट्र हित विपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताउनुभयो । (रासस)

  • निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

    निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

    काठमाडौँ, ९ फागुन –
    नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो ।

    केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ । सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।

    एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ । एक सङ्गठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ । आवश्यकताअनुसार नयाँ सङ्गठित सदस्यतासमेत वितरण गर्नुपर्नेछ । केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ ।

    नगर र गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य वा वरिष्ठ नेतृत्वको संयोकजत्वमा निर्वाचन परिचालन मूल परिचालन समिति बनाउनुपर्नेछ । निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन तत्काल वडास्तरमा सङ्गठित सदस्यहरू, जबस मोर्चा र पेसागत सङ्गठनका नेताहरु, पार्टी समर्थक बुद्धिजीवी र विषय विज्ञ सम्मिलित निर्वाचन परिचालन समिति बनाउनुपर्नेछ । यस्तै मूल समितिअन्तर्गत अध्ययन सर्वेक्षण तथा विश्लेषण, स्वयम्सेवक परिचालन, सूचना सञ्चार तथा प्रचारको कामलाई व्यवस्थित गर्नुपर्नेछ ।

    हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको सङ्क्षिप्त रिपोर्ट तयार पार्ने, गत स्थानीय तहको निर्वाचनको मत परिणामको तथ्याङ्कगत आधारमा समीक्षा गर्ने र विजय पराजयको आधार र कारणको पहिचान गर्न निर्देशन दिइएको छ ।

    वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ । वडाका विकास निर्माणका आवश्यक योजनाको पहिचान र प्राथमिकीकरण गर्ने, आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको नामावली र अन्य आवश्यकताको पहिचान गर्ने एवम् वडामा सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिको पहिचान गर्न भनिएको छ । यस्तै, सबै वडा र टोलमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नसमेत अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको छ । (रासस)

  • बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

    बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

    पर्वत, ८ फागुन
    हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

    अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गरेका छन् । “दिनभर सबै मिलेर बाँदर धपाउँछौँ”, फलेबास–३ का तुलसी सापकोटाले भन्नुभयो, “रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन, रातिमा सधैँ बस्न पनि सकिँदैन ।”

    बाँदर, दुम्सीलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा–१० पिपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताउनुभयो । “बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।”

    आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्कलगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । “अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ”, बाँसखर्कका जगत्बहादुर खत्रीले भन्नुभयो, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्क्याउँछ ।” उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जङ्गली जनावरले सखाप पार्न थालेपछि कृषक पिरलोमा परेका हुन् ।

    कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतङ्कले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गत वर्ष आलुखेतीबाट रु १० करोड भित्र्याएका महाशिला–२ भोक्सिङका किसानले यसपालि बाँदर आतङ्ककै कारण भित्र्याउन नपाएको बताएका छन् । भोक्सिङका जीतबहादुर गुरुङका अनुसार असोजदेखि नै हुलका हुल आउन थालेका बाँदर अहिलेसम्म दैनिकजसो आसपासका जङ्गलमै बसेपछि धेरै किसानले आलु नै लगाएनन् । “बाँदरले नछाडेपछि जोगाउन सकिँदैन भनेर धेरैले आलु लगाएनन् ।”

    किसानले खेती स्याहारेर खानै नसकेको गुनासो गरेपछि केही स्थानीय तहले बाँदर नियन्त्रणका योजना ल्याएका थिए । महाशिला र पैयुँ गाउँपालिकाले आव २०७५÷७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन । महाशिलाले पहिलो वर्ष करिब एक हजार ५०० बाँदर नियन्त्रण गरेको भए पनि चौतर्फी आलोचनापछि स्थगन गरिएको थियो । (रासस)

  • मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

    मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

    गलकोट, ८ फागुन –
    नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ ।

    जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन । छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।

    गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ । ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आश पलाएको छ । अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा बेस विच्छ्याउने कार्य भइरहेको छ, भने उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल विच्छ्याउने कार्य भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

    मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिन थालेको बताउनुभयो । “अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नु अघिका काम भइरहेको छ, सवबेश विच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ”, उहाँले भन्नुभयो, “उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेकोछ, निर्माणको काम लगभग सकिएको छ, असारअघि कालोपत्र सक्ने गरी आयोजना लागिपरेको छ ।”

    यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति भएको छ ।

    बिहुँ खण्डमा चार किलोमिटर सडक एक पटक कालोपत्र गरिएको, फेरि डकल गर्ने तयारी छ, छ किलोमिटर सडकमा बेस विच्छ्याइसकेको दुई किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको बिहुँ घोडाबाँधेको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । “सुरुमा कच्चापदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्र गर्न मौसमले साथ दिएको छैन अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैतसम्म नसके असारसम्म कालोपत्र गरेरै छोड्छौं”, उहाँले भन्नुभयो, “अहिले कामलाई तीव्रता दिएका छौं, केही परिणाम आउनेगरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।”

    यस्तै मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छ्याउने काम भइरहेको छ । चार महिनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएका भारत/सिद्धिसाई कम्पनीले जनाएको छ । कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । तीमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

    बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमि सडक खण्डकालोपत्र नहुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् । (रासस)

  • क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

    क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

    काठमाडौँ, ९ फागुन –
    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्, अहिलेसम्म हाम्रो खातामा रु ८१ करोड जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम आउँछ ।” मन्त्री आलेले केही हप्ता पहिले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ ।

    पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन् भने गोल्डेन फिङ्गर गेमिङ् जोन प्रालीले नयाँ क्यासिनो सञ्चालन गरेबापत रु दुई करोड ५० लाख रोयल्टी बुझाएसँगै सरकारको खातामा रु ८१ करोड रकम जम्मा भएको हो ।

    विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता रकम जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ । यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरण समेत सार्वजनिक गरेको छ । अब छ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । (रासस)

  • भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

    भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

    – रमेश लम्साल
    काठमाडौँ, ९ फागुन –
    सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र भएको देशले विप्रेषणबाट आएको डलर खर्च गरेर तेल खरिद गर्ने विषय अब क्रमशः अप्ठ्यारो बाध्यता बन्न थालेको छ ।

    यो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले नै काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी क्षेत्रमा बिजुलीको सघन पहुँच स्थापित गर्ने लक्ष्यका साथ गुरुयोजना बनायो । सो गुरुयोजनालाई सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तय अध्ययनसहित प्रसारण प्रणालीको खास मार्गचित्र तयार पारेको हो । ग्रीड कम्पनीले देशभर विशेष गरी ठूला पाँचवटा हव स्टेशन बनाउने सुझाव दिएको छ । त्यसलाई क्षेत्रगत रुपमा नदी करिडोरका आधारमासमेत विभाजन गरिएको छ ।

    महाकाली, पश्चिम सेती, तथा कर्णाली करिडोरलाई समेट्ने गरी दोधारा तथा नयाँ अत्तरिया सवस्टेशन निर्माण हुनेछ । त्यसले भारतको बरेली र उत्तराखण्डलाई जोड्नेछ । सो हव स्टेशनमा पञ्चेश्वरको प्रस्तावित तीन हजार २४० मेगावाट, हुम्ला कर्णाली क्यास्केडको ९१६ मेगावाट, पश्चिम सेतीको ७५० मेगावाट, एसआर ६, चैनपुर सेतीलगायतका आयोजनाको बिजुली जोडिनेछ । आन्तरिक खपतको बढावाका अलावा भारत निर्यातका लागि पनि सो हवले सुदूरपश्चिम प्रदेशमा विशेष भूमिका निर्वाह गर्दछ ।

    राजनीतिक दलहरुबीच चर्को विवाद र आइतबारदेखि संसद्मा प्रवेश गरेको अमेरिकी सहयोग परियोजना एमसिसीसँग जोडिएको अर्को हब स्टेशन हो न्यू बुटवल गोरखपुर । यही फागुन ११ र १२ गतेका लागि तय भएको नेपाल र भारतका ऊर्जा सचिवको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका अलावा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो सवस्टेशनमा काली गण्डकी, मस्र्याङ्दी तथा बूढीगण्डकी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली जोडिनेछ ।

    यस्तै माथिल्लो मस्र्याङदी दोस्रो ६०० मेगावाट, काली गण्डकी कोभान ४०० मेगावाट, मनाङ मस्र्याङदी २८२ मेगावाट सोही सवस्टेशनमा जोडिनेछ । न्यू बुटवल गोरखपुर अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत बिजुली आयात निर्यातका लागि मार्ग प्रशस्त हुनेछ ।

    सरकारले तय गरेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमा कम्तीमा पनि पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख छ । बूढीगण्डकी, मस्र्याङदी करिडोरलगायत स्थानमा उत्पादन भएको बिजुली बढी हुँदा त्यसलाई भारत र बङ्गलादेश निर्यात गर्न नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म प्र्रसारण लाइनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसका साथ साथै नेपालले चाहेको स्थानबाट मात्रै विद्युत् निर्यात गर्नसक्ने अवस्था नभएकाले प्रसारण लाइन निर्माण जरुरी देखिएको हो ।

    संसद्मा टेबुल भएको एमसिसी सम्झौताअनुसार प्राप्त हुने हालको मूल्य अनुसार झण्डै रु ६० अर्ब अनुदान र नेपाल सरकारले थप गर्ने झण्डै रु १४ अर्ब बजेटबाट प्रसारण लाइनका अतिरिक्त र सडक पूर्वाधार समेत निर्माण हुनेछ । काठमाडौँको उत्तरपूर्वमा रहेको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौँडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा डबल सर्किट ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

    सो प्रसारण लाइन ३१२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनका अलावा रातमाटे, दमौली र बुटवलमा तीन अत्याधुनिक सवस्टेशन निर्माण हुनेछन् । रातमाटे सवस्टेशनमा नेपाल र चीनबीच निर्माण हुन लागेको रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइनसमेत जोडिनेछ । यसबाट भारत र चीनमा बिजुलीको निर्यातका लागि सबैभन्दा भरपर्दो प्रसारण संरचना निर्माण हुने छ ।

    ऊर्जा उद्यमी प्रकाश दुलालका अनुसार प्रसारण लाइनको आसपास निर्माण हुन लागेका र निर्माणमा जान लागेका आयोेजनाका लागि प्रसारण लाइन जरुरी छ । त्यसकारण प्रसारण लाइन निर्माणको विषयमा राजनीति हुन नहुने उहाँको भनाइ छ । प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि मात्रै ४० करोड अमेरिकी डलर खर्च हुनेछ । त्यसैगरी सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लहमी हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ । सो कार्यका लागि एमसिसीबाट प्राप्त हुने अनुदानमध्ये ५.२ करोड अमेरिकी डलर खर्च हुनेछ ।

    एमसिसी कार्यान्वयनका लागि सरकारले स्थापना गरेको एमसिए नेपालका अनुसार बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपाल र भारत सीमासम्मको करिडोर २२ किलोमिटर प्रसारण लाइन निर्मााणका लागि सहायता उपयोग गरिनेछ । ऊर्जा क्षेत्रको भरपर्दो र एमसिसी लगानीको दिगोपना बढाउन, क्षमता विकासका लागि प्राविधिक सहायतासमेत उपलब्ध हुनेछ ।

    बिजुलीको धेरै माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका सहरलाई समेट्ने लक्ष्य एमसिसी अनुदानमा निर्माण हुने प्रसारण लाइनको छ । न्यू बुटवल सवस्टेशन हुँदै भारतको गोरपुर जोडिने प्रसारण लाइन कूल १४० किलोमिटर लामो छ । त्यसको २० किलोमिटर खण्ड मात्रै नेपालमा पर्छ भने १२० किलोमिटर खण्ड भारतमा पर्छ ।

    सो प्रसारण लाइनलाई सरकारले असाध्यै महत्व दिएको छ । प्रसारण लाइन समान लगानीमा निर्माणका लागि नेपाल र भारतबीच सहमति पनि भइसकेको छ । प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । प्राधिकरणको विद्यमान सवस्टशेन नजिक अर्को सवस्टेशन निर्माण भएपछि विद्युत् व्यापारको अर्को ढोका खुल्नेछ ।

    जानकारका अनुसार बूढीगण्डकी र मस्र्याङदी करिडोरलगायतका स्थानमा निर्माण हुने बिजुली निकासी गर्न नसकिँदा प्राधिकरणले अर्बौ बराबरको रोयल्टी मात्रै तिर्नुपर्ने अवस्था आउनुका साथै निर्यातको लक्ष्यसमेत पूरा नहुने देखिन्छ । नेपाली भूमिमा बन्ने कुनै पनि प्रसारण लाइन, सवस्टेशन निर्माणका लागि कोही कसैको सहमति लिनुपर्दैन । अन्तरदेशीय प्रसारण लाइन भएकाले एक अर्काको सहमति जरुरी रहने प्रावधान राखिएको जानकारको भनाइ छ ।

    एमसिए नेपालका अनुसार प्रसारण लाइनको मार्ग निर्धारण सरकारको विद्युत् नीति र गुरुयोजनालाई आधार मानेर विशेषज्ञ सम्मिलित टोलीले गरेको अध्ययन र अनुसनधानका आधारमा तयार गरिएको हो । यसको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ । एमसिसीले हालसम्म विश्वका ४९ देशमा अनुदान उपलब्ध गराएको छ । सन् २००४ मा स्थापना भएको एमसिसीले २०१७ को अगस्टमा नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

    एमसिसी सम्झौता प्रतिनिधिसभामा आइतबार टेबल गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्दै एमसिसी विकास पूर्वाधारका लागि प्राप्त भएको अनुदान भएको बताउनुभएको थियो ।

    उहाँले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता अक्षुण्ण र अउल्लङघ्नीय रहेको राष्ट्रिय प्रतिबद्धता प्रकट गर्दै, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असङ्लग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता अनुसार कुनै सैन्य सङ्गठनमा सामेल नहुने नेपालको पररष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै, उक्त प्रस्ताव अनुमोदन गरिदिनुहुन म यस सम्मानित सदनसमक्ष प्रस्ताव गर्दछु ।”

    सन्धि ऐन, २०४७ को दफा ४ को व्यवस्था बमोजिम, मन्त्रिपरिषद्को २०७५ माघ २५ गतेको बैठकले एमसिसी अनुदान सहायता सम्झौतालाई अनुमोदन गर्नका लागि सङ्घीय संसद्मा पेश गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । यद्यपि विकास परियोजना वा करार सम्झौतालाई संसद्मा नलगेको भए पनि हुन्थ्यो भन्ने मत पनि यसबीचमा नउठेको होइन ।

    यो सम्झौतामा हस्ताक्षर हुनुअघि गरिएको अध्ययनले विद्युत् प्रसारण लाइनबाट दुई करोड ३० लाख तथा सडक मर्मत कार्य १० लाख जनताले प्रत्यक्ष लाभ प्राप्त गर्ने प्रारम्भिक अनुमान गरेको थियो । यी परियोजनाबाट ५० लाख घरधुरी लाभान्वित हुनेछन् । (रासस)

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

    बनियानी, ८ फागुन –
    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

    छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

    छनोटमा परेको मेचीनगरका सात विद्यालयमध्ये कक्षाकोठा निर्माणका लागि तीनवटा, ल्याब एक र आइसिटीका लागि तीन विद्यालय छनोटमा परेका छन् । त्यस्तै बिर्तामोडका पाँचमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, झापा गाउँपालिका र गौरीगञ्जका चार–चारमध्ये कक्षाकोठा र आइसिटी दुई–दुई, बाह्रदशीका पाँचमध्ये कक्षाकोठा र आइसिटीका लागि दुई–दुई तथा ल्याबका लागि एक विद्यालय छनोटमा परेका छन् ।

    यस्तै शिवसताक्षीका नौ विद्यालयमध्ये कक्षाकोठाका लागि पाँच, आइसिटी चार, हल्दिबारीका दुई विद्यालयलाई कक्षाकोठा निर्माणका लागि बजेट विनियोजन गरिएको छ । गौरादहमा नौ विद्यालयमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि चार, कचनकवलका तीन विद्यायमध्ये कक्षा कोठाका लागि दुई र आइसिटीका लागि एक, कमलका १० विद्यायमध्ये कक्षा कोठाका लागि सात र आइसिटीका लागि तीन विद्यालयलाई बजेट उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

    यस्तै अर्जुनधाराका आठ विद्यालयमध्ये कक्षा कोठाका लागि चार, आइसिटीका लागि तीन र ल्याब सञ्चालनका लागि एक विद्यालय छनोटमा परेका छन् भने बुद्धशान्तिका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेका छन् ।

    भद्रपुरका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, दमकका सात विद्यायमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि दुई र कनकाईका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेको कार्यालयले जनाएको छ ।

    बुद्धशान्ति–५ होक्सेस्थित त्रिभुवन मावि बुद्धशान्तिका प्रधानाध्यापक कुमार आचार्यले चारकोठे कक्षाकोठा निर्माणका लागि विद्यालय छनोटमा परेको बताउनुभयो । उहाँले यसबाट विद्यार्थीको पठनपाठन आउने बताउँदै भन्नुभयो, “विद्यालयमा कक्षा कोठाको अभाव हट्नुका साथै सामुदायिक विद्यालयप्रतिको आकर्षण पनि बढ्छ ।”

    शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख राजकुमार विकले यहाँका विद्यालयमा कक्षाकोठा अभावको समस्यालाई हटाउन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । “स्थानीय तहले पनि सामुदायिक विद्यालयमा कक्षाकोठा बनाइरहेका छन्”, उहाँले भन्नुभयो, “भवन अभावमै खुला आकाशमा बसेर पढ्नुपर्ने अवस्था छैन ।” (रासस)

  • ‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

    ‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

    काठमाडौँ, ८ फागुन –
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पु¥याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गर्नुभयो । नाष्टको ४५औँ प्राज्ञसभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवद्र्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पु¥याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गर्नुभयो ।

    “स्थानीय तह र प्रदेशसम्म पुनःर्सरचना गरी प्रतिष्ठानका क्रियाकलापलाई सक्रिय पार्ने र राष्ट्रको प्राथमिकताका क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बोध गरेको छु”, उहाँले भन्नुभयो, “यसका साथसाथै संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई आकर्षण गर्नका लागि संस्थागत विकास, वैज्ञानिक प्राविधिकहरूको वृत्ति विकास, प्रयोगशालाको क्षमतामा अभिवृद्धि गर्ने कार्य अपरिहार्य देखिन्छ ।” (रासस)

  • राष्ट्रव्यापी कविता प्रतियोगिता : ‘भित्र्याउनु छ घरभित्र सह’ प्रथम

    राष्ट्रव्यापी कविता प्रतियोगिता : ‘भित्र्याउनु छ घरभित्र सह’ प्रथम

    खोटाङ, ८ फागुन –
    ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०७८ मा खोटाङका तेजकुमार राई प्रथम हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा सो प्रतियोगिता आयोजना गरेको थिए ।

    ‘भित्र्याउनु छ घरभित्र सह’ शीर्षकको कविता लेखेर प्रथम हुनुभएका कवि राईले नगद रु ५० हजारको साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा बैतडीका वासुदेव पाण्डे ‘प्रभाकर’को ‘पहिचान र लोकतन्त्र’ र ताप्लेजुङकी सविता बरालले लेख्नुभएको ‘ढोका उघारैँ अब’ शीर्षकको कविता क्रमशः द्वितीय र तृतीय भएको आयेजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतियोगितामा द्वितीय र तृतीय हुने कवि तथा कवयत्रीले क्रमशः नगद रु ४० हजार र ३० हजारका साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । देशभरका २६५ कवि तथा कवयत्री सहभागी राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग लिएका जनाइको छ । युवा कवि राई यसअघि ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित प्रतियोगितामा तृतीय हुनुभएको थियो । उहाँ व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ विसं २०७४ मा ‘खोटाङ आइडल’ बन्नुभएको थियो । गीत–सङ्गीत र साहित्यिक क्षेत्रमा रुचि राख्नुहुने कवि राईले आफ्नै स्वरमा चारवटा गीत रेकर्ड गराएर बजारमा ल्याइसक्नुभएको छ ।

    राट्रव्यापी निबन्ध प्रतियोगितातर्फ तनहुँका गोविन्दगोपाल खतिवडा प्रथमस तेह्रथुमकी रेजिना आपगाईँ द्वितीय र काठमाडौँका गणेश दङ्गाल तृतीय हुनुभएको जनाइएको छ । उत्कृष्ट भएका निबन्धहरूमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय विज्ञप्तिमा जनाइएको छ ।

    निबन्धतर्फको प्रतियोगितामा देशभरका ६७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने निबन्धकारलाई क्रमशः रु ५० हजार, ४० हजार र ३० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।(रासस)

  • सूचना प्रविधि प्रयोगशालामा आगजनी

    सूचना प्रविधि प्रयोगशालामा आगजनी

    मलङ्गवा, ८ फागुन –
    बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ ।

    ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेकोे छ । आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

    यसअघि विसं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ ।

    घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि सो विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो । प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयाई हस्तातरण गरिएको थियो । (रासस)

    तस्विर : प्रतिकात्मक