Category: मधेस प्रदेश

  • पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

    पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

    इन्दिप कोइराला
    बारा, ५ असार-

    जग्गा विवाद झिकेर निर्माणधिन बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ कम्पनी प्रालि बसुन्धरा काठमाडौंलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

    सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् । आक्रोशित स्थानीयको अलपत्र पुलको निर्माण रोक्ने सखरा हाउजिङ कम्पनीलाई वडा कार्यालयहरूबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरूसँग माग गरेको थियो ।

    सो वडाका वडा अध्यक्षले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै उक्त कम्पनीले समस्या समाधन नगरेसम्म कम्पनीसँग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताएका छन् । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध सृजना गर्ने सखरा हाउजिङ कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडा अध्यक्षहरूले बताएका छन् ।

    पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै स्थानीयहरूले कम्पनीविरुद्ध संर्घषमा उत्रिने घोषणा गरेको छन् । वर्षायामसँगै बाढी र डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको स्थानीयको भनाइ छ ।

    स्थानीयले पुल निर्माणको लागि दवाव दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गरेको छ ।गत चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाको विरुद्ध २७ माघ २०७७ सखरा हाउजिङ कम्पनी प्रा‍लि बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

    कम्पनीले साविक डुमरवाना गाविस- ४ को कित्ता नम्बर ४३४ को १ बिघा र कित्ता नम्बर ४३५ को ३ कठ्ठा जमिन मध्ये १ बिगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीको तर्फबाट कलैया उपमहानगरपालिका- २४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराउएका थिए । उनले प्रतिकठ्ठा ११ लाख क्षतिपूर्ती माग दावी गरेको बताइएको छ । सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले पुल निर्माण कार्यमा रोक लगाउँदा पुल अलपत्र परेको स्थानीय हरिचन्द्रप्रसाद यादवले बताए ।

    विचाराधीन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्त्यका लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरूलाई आग्रह गरेका छन् । पुल निर्माण कार्य चाँडै सम्पन्न गर्नुपर्ने स्थानियहरुले बताएका छन् ।

    करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भूमाफियाहरूको चलखेलले गर्दा उपमहानगरवासीले आफ्नै पालिकाको केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नम्बर १८ का जगदिप कोइरालाले बताए ।

    काठमाडाैँमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाई नै दुःख दिने हाउजिङको कारोबार शंकास्पद रहेको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । ठूला जग्गा कारोबारीहरूले सरकारका प्रतिनधिहरूसँगको सेटिङमा खोलामा परेको जग्गा सस्तोमा किनेर मोटो रकम क्षतिपूर्ति लिने गरेको उनीहरूले आरोप लगाए ।-न्युज कारखाना

  • तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

    तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

    धनुषा ,असार ३-
    स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए ।

    जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा सङ्कलन कार्यसमेत ठप्प भएको छ । दैनिक करिब रु १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी दिए । “दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन्”, उनले भने, “तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेका छन् ।” पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नु बाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले बताए ।

    विसं २०५७ मा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, “तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०–१५ हजारमा झरेको छ ।” अहिले उत्पादन भइरहेको अण्डा सङ्कलन र बजार पठाउने काम ठप्प छ । फोहरमैला व्यवस्थापन गर्न प्रयास जारी रहे पनि स्थानीयवासीले पोल्ट्री नै अन्यत्र सार्न माग गरेको अधिकारी बताउँछन् ।

    बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए । “फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ, हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।” खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधानका लागि पहल भइरहेको बताए ।

  • मधेस प्रदेश: दलित बालबालिकाको खातामा बर्सेनि २ हजार जम्मा गरिदिने

    मधेस प्रदेश: दलित बालबालिकाको खातामा बर्सेनि २ हजार जम्मा गरिदिने

    जनकपुर, २ असार-

    मधेस प्रदेश सरकारले जीवन निर्वाह खर्च भन्दै एक अर्ब रुपैयाँ वितरणमुखी रकम विनियोजन गरेको छ ।

    मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै दलित बालबालिकाका लागि खातामा रकम जम्मा गरिदिनेसमेत घोषणासमेत गरेका छन् ।

    ‘मधेस प्रदेशका अत्यन्त विपन्न, कुनै नियमित पारिवारिक आयस्रोत नभएका नागरिकहरूको नक्सांकन गरी परिचयपत्रका आधारमा ‘जीवन निर्वाह खर्च’को रूपमा सोझै बैंक खातामार्फत उपलब्ध गराउन एक अर्ब ५० करोड विनियोजन गरेको छु’ अर्थमन्त्री साहले बजेटमा भनेका छन्, ‘डोम, मुसहर चमार दुसाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याई साक्षरता दरमा वृद्धि गर्न र स्कुल छाड्ने दरलाई न्यून गर्न दलित शिक्षा अभियान अन्तर्गत प्रत्येक बालबालिकाको खातामा बर्सेनि दुई हजार रुपैयाँका दरले शिक्षा बिजक रकम उपलब्ध गराउन रु २ करोड विनियोजन गरेको छु ।’न्युज कारखाना

  • मधेस सरकारकाे साइकल ल्यापटप किन्न ७६ करोड बजेट

    मधेस सरकारकाे साइकल ल्यापटप किन्न ७६ करोड बजेट

    जनकपुर, २ असार-

    मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रुपैँया छुट्याएको जानकारी दिए ।

    कक्षा ८ का छात्रलाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’न्युज कारखाना

     

  • मधेश प्रदेश : भोलिबाट बजेट अधिवेशन सुरु, २१ जेठमा नीति तथा कार्यक्रम आउने

    मधेश प्रदेश : भोलिबाट बजेट अधिवेशन सुरु, २१ जेठमा नीति तथा कार्यक्रम आउने

    जनकपुरधाम, १८ जेठ-

    मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

    मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

    उनका अनुसार २१ जेठमा बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिएका छन् ।

    कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पुर्वधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी नीति तथा कार्यक्रम ल्याउने लागिएको छ ।

    आफ्ना कार्यकालको अन्तिम वर्षमा रहेका प्रदेश सरकारले चुनाव लक्षित गरी अनुदानमुखी कार्यक्रमहरु थपिन लागेको एक नीति तथा योजना आयोगका एक कर्मचारीले बताए । उनका अनुसार वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन अनुदान, कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न लगायतका कार्यको लागि अनुदानमुलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुले जोड दिएका छन् ।न्युज कारखाना

  • महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

    महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

    विशाल बस्नेत
    महोत्तरी, १५ जेठ –

    महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो ।

    एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ । ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् । यो संख्या एआरटी सेन्टरमा आउनेहरुको मात्र हो । धेरैजसोले रोग लुकाउने भएको कारण महोत्तरीमा सयौँ संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

    २०७८ मा ६९ जनामा संक्रमित भएका छन् । अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरुषहरुमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ ।

    यो महिनामा मात्र एचआईभी सम्बन्धित् मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । २९४ जनामा १९४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

    तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ । पेशेवर यौनकर्मी तथा असुरक्षित यौनसम्पर्कका कारण पनि एचआईभी संक्रमण फैलिँदै गएको देखिएको छ । एआरटी सेन्टरका इन्चार्ज राजिप पाठकले संक्रमितमध्ये महिला यौनकर्मी आठ जना र तेश्रो लिङ्गी १२ जना छन् ।

    गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरुमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ । इन्चार्ज राजिप पाठकको अनुसार यो वर्षमा मात्र एचआईभीकै कारण सात जनाको ज्यान गयो ।

    पाँच वर्षको तथ्यांकमा सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४४ जना संक्रमित वनेका छन् । जिल्लाभरि बाक्लै संख्यामा खुलेका होटल र उक्त होटलमा लुकिछिपी चलाइने यौन व्यवसायका कारण पनि एचआईभी कै कारण ज्यान जानेको संख्या अधिक बनिरहेको जानकारहरु बताउँछन् ।

    एआरटी सेन्टर जलेश्वरको अनुसार पिपरामा १६ जना, मनरासिस्वा नगरपालिकामा २१ जना, बल्वामा १२ जना, सम्सीमा ३६ जना, सोनामामा १५ जना, लोहारपट्टीवाट १५ जना, रामगोपालपुरमा २२ जना, एकडारमा १७ जना, मट्टीहानीमा २६ जना, औरहीमा १० जना, महोत्तरीमा १९ जना, भंगाहामा १८ जना, गौशालामा १२ जना र बर्दिबासमा १५ जना एचआईभी संक्रमित छन ।न्युज कारखाना

     

  • स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

    स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

    काठमाडौ, १४ जेठ-
    स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन ।

    शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन ।

    प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आब्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन् । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन ।

    शुक्रवार देखी जारी बाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद २०७६ लाई संसोधन गर्न बनेको बिद्येयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा पस्ताव गरेका छन भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुबिधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

    गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन ।

    यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० को बिनियोजन बिद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।-न्युज कारखाना

  • सर्वोच्चको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन(फोटो फिचर)

    सर्वोच्चको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन(फोटो फिचर)

    इन्दिप कोइराला

    काठमाडौं, १४ जेठ-

    सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो ।

    सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन ?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    २०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्नेको बाराका युवा नेता दामोदर मैनालीले बताए ।

    ‘हामीले अहिले न्यायपालिकाले कार्यपालिकाको कामप्रति हस्तक्षेप गर्दै बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो’, युवा नेता मैनालीले भने । अदालतले आफ्नो फैसला नसच्चाए देशभर आन्दोलन घोषणा गर्ने उनले चेतावनी दिए ।

    ‘न्यायलयले वातावरणीय अधिकारलाइ मात्रै प्राथमिकता दिइ अन्य मौलिक अधिकारहरू–रोजगार, विकास र जीवनको अधिकार लगायतलाइ कम प्राथमिकता दिइ गरेको फैसला न्यायिक देखिदैन । तसर्थ सो फैसलाको पुर्विचार हुनुपर्छ र पुनर्वालोकन पनि हुनुपर्छ भन्ने हामी विकासपक्षधर सम्पूर्ण नेपालीहरूको आवाज हो’, मैनालीले भने ।

    ‘यो अदालतप्रतिको प्रारम्भिक प्रतिक्रिया हो,’, निजगढका युवा उघमी ऋृषिराज बडालने भने । अदालतको निर्णय गलत भन्दै त्यसलाई सच्चाउन उनले माग गरे ।

    अदालतको आदेशविरुद्ध जस्तोसुकै आन्दोलन गर्न बाराका जनता तयार रहेको अर्का सहभागी नबराज पौडेलले बताए । यो निर्णयले मधेश प्रदेशसँग सतप्रतिशत धोका भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको चर्चाले तराईबासीमा थपिएको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको आरोप लगाए ।

    विरोध प्रदर्शनका सहभागीहरूले अदालतको निर्णय गलत रहेकोले भन्दै सच्चाउन माग गरे । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजानेसमेत बताए ।

    सर्वोच्च अदालतले तुरुन्तै निर्णय नसच्चाए कडा रुपमा नियमित विरोध कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।

    बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियाे । वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

    वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यताअनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो । -न्युज कारखाना

  • मधेस प्रदेशमा माओवादी : २१ सिटबाट ९ मा झर्‍यो, ९९ एकल उम्मेदावारी दिँदा ७ मा मात्र विजयी

    मधेस प्रदेशमा माओवादी : २१ सिटबाट ९ मा झर्‍यो, ९९ एकल उम्मेदावारी दिँदा ७ मा मात्र विजयी

    काठमाडौ, १३ वैशाख-

    नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनाल लडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ ।

    हालै सगत निर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचनमा २१ सिट जित हासिल गरेको माओवादी यो पटक ९ स्थानमा सीमित भएको छ ।

    ‘अघिल्लो निर्वाचनमा २१ स्थानमा जित हासिल गरे पनि यो निर्वाचनमा ९ स्थानमा मात्र विजय हासिल गर्न सक्षम भयौँ,’ केन्द्रीय सदस्य विश्वनाथ साहले न्युज कारखानाासँग भने, ‘प्रदेश कमिटी निर्माण हुनै सकेको थिएन । नोमिनेसनका दिन १२ बजे मात्र टिकट पाइयो र आन्तरिक अन्तसंघर्षका कारण माओवादी ९ सिटमा सीमित हुन पुग्दा दुःख लागेको छ ।’

    गणेश साहलाई मधेस प्रदेश इन्चार्ज बनाए पनि माओवादीको मधेस प्रदेशमा अन्य सांगठानिक संरचना निमार्ण हुन सकेको छैन भने पूर्व मधेस ब्युरो प्रमुख गिरिराजमणि पोखरेल र मातृक यादव बीचको जुँगाको लडाइँले पनि माओवादी मधेसमा कमजोर हुनु पुगेको माओवादी नेताहरू बताउँछन ।
    स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अन्तिमतिर आइपुग्दा सर्लाहीमा सबैभन्दा बढी एकल रुपमा नै उम्मेदवार विजयी हासिल गरेका छन् भने अन्यमा शून्य देखिएको छ । मधेसका आठ जिल्लामध्ये सप्तरी, महोत्तरी, बारा र पर्सामा उम्मेदवारी दिए पनि एकल उम्मेदवारीमा भने विजयी हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको छ।

    सर्लाहीको हरिवन, रामनगरपालिका, बागमती नगरपालिका र बलरामा मात्र एकल उम्मेदवारी दिएको माओवादीले रौतहटमा दुर्गा भगवती गाउँपालिका, धनुषाको सबैला गाउँपालिका र सिरहाको मिर्चैैयामा मात्र विजयी हासिल गर्न सफल भएको थियो भने उम्मेदवारी दिएका ९२ स्थानीय तहमा विजय हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको हो ।

    साथै, ३७ स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादीले दुई स्थानीय तहमा मात्र विजय हासिल गर्न सफल भएको छ । सप्तरीको खडग नगरपालिका र जितपुर उपमहनगरपालिकाबाहेक अन्यत्र माओवादीले विजय हासिल गर्न सकेको देखिएन ।

    गत स्थानीय तह निर्वाचनमा २१ स्थानमा विजयी भएको माओवादीले यस निर्वाचनमा १२ स्थानमा मात्रै विजय हासिल गर्न सफल भएको छ ।-न्युज कारखाना

  • मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

    मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

    जनकपुरधाम, २९ चैत-

    मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य हुने जानकारी दिएका हुन् ।

    मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् ।

    प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् । २९ मंसिरदेखि सुरु भएको आठौँ अधिवेशन चार महिना चलेको हो । यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको हो । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।- न्युज कारखाना