Category: मनोरञ्जन

  • गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

    गाईजात्रालाई लक्षित गर्दै ‘मिसन नौटङ्की’ सार्वजनिक

    काठमाडौँ, साउन ८ –
    हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गर्नुभएको छ ।

    दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताउनुभयो । “अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । बर्सेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

    विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहनुभएका कलाकार रिजालले ‘मिसन नौटङ्की’ अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।

    “अहिले नेताहरूले आगामी निर्वाचन अर्थात् मिसन-८४ भन्दै प्रचार गरिरहेका छन् । अहिले काम गर्न ध्यान नदिएर नयाँ आशा बाड्ने नेतालाई लक्षित गर्दै केही हास्य प्रस्तुति तयार गरेको छु । यसको उद्देश्य कसैलाई चोट पु¥याउनु नभएर जनतालाई बाँडिएको झुटो आश्वासनलाई व्यङ्ग्य गर्नु हो”, उहाँले भन्नुभयो ।

    उहाँले चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ तयार गरिएको जानकारी दिनुभयो । कलाकार रिजालले लेखन, निर्देशन गर्नुभएको गाईजात्रा कोसेली ‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गर्नुभएको छ । रासस

  • डेंगुका कारण अस्पतालमा भर्ना भए विजय देवरकोन्डा

    डेंगुका कारण अस्पतालमा भर्ना भए विजय देवरकोन्डा

    काठमाडौँ ,साउन २-
    दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगुका कारण अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यममा आएका समाचारअनुसार, अस्पतालमा अभिनेताको उपचार भइरहँदा सारा देवरकोन्डा परिवार उनीसँगै छ । उनले जुलाई २० मा डिस्चार्ज पाउने अपेक्षा गरिएको छ ।

    इन्स्टाग्राम ह्यान्डल इन्टरटेनमेन्ट एफको एक पोस्टमा विजय देवरकोन्डालाई डेंगु भएको दाबी गरिएको छ, जसका कारण उनी अस्पतालमा भर्ना भएको भनिएको छ । तर यस विषयमा विजय वा उनको टिमले अहिलेसम्म कुनै बयान दिएको छैन ।

    ईडीले जुलाई १० मा दक्षिण भारतीय अभिनेताहरू विजय देवरकोन्डा, राणा दग्गुबती र प्रकाश राज समेत २९ जना सेलिब्रेटीहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो । यसमा उनीहरूले अवैध सट्टेबाजको प्रचार प्रसारलाई बढावा दिएको आरोप लगाइएको थियो । हैदराबाद प्रहरीले दर्ता गरेको एफआईआरको आधारमा यो कारबाही गरिएको थियो ।

    हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, ३२ वर्षीय व्यापारी पीएम फणीन्द्र शर्माको उजुरीमा मार्चमा हैदराबादको मियापुर प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको थियो । सेलिब्रेटी र प्रभावशाली व्यक्तिहरूले अवैध सट्टेबाजी एपहरूको प्रचार गरिरहेको र यसले सार्वजनिक जुवा ऐन १८६७ को उल्लङ्घन भइरहेको उजुरीमा भनिएको थियो ।

    किंगडममा देखिँदैछन् विजय

    विजय देवरकोन्डा चाँडै नै किंगडम फिल्ममा देखिनेछन् । यो फिल्म जुलाई ३१ मा रिलिज हुँदै छ । फिल्मको टिजरमा अभिनेताको दमदार अवतार देखिएको थियो । टिजरमा अभिनेताको लुकको दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डानाले पनि प्रशंसा गरेकी थिइन् । विजय बाहेक यस फिल्ममा भाग्यश्री बोर्से र सत्यदेव पनि मुख्य भूमिकामा छन् । एजेन्सी

  • एलिनाको बाटोमा रामकृष्ण ढकालः सार्वजनिक गरे गालीगलौज गर्नेहरूको आइडी

    एलिनाको बाटोमा रामकृष्ण ढकालः सार्वजनिक गरे गालीगलौज गर्नेहरूको आइडी

    काठमाडौँ, असार ३१-
    गायक रामकृष्ण ढकालले पनि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

    ढकालले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्दै आफूले पनि साथ दिएको बताएका छन्।

    उनले लेखेका छन्,’यी तस्बिरहरू सार्वजनिक गर्नुअघि म गरौँ कि नगरौँ भनेर द्विविधामा पनि परेँ । तर, धेरै सोचेपछि म यो निष्कर्षमा पुगे कि मैले यो अपराधको भण्डाफोर गर्नैपर्छ । यसबाट मेरो पीडाको घाउमा केही मात्रामा भए पनि मलहम लाग्नेछ । केही संख्यामा भए पनि अपराधीहरू कारबाहीको दायरामा आउनेछन् । अझ, त्योभन्दा पनि ठूलो कुरा केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैँसे गरिरहेको हुनेछु भन्ने लाग्यो ।’

    ढकालले आफूलाई अभद्र टिप्पणी गर्नेहरू केही प्रहरीको हिरासतमा रहेको र केही निगरानीमा रहेको पनि बताएका छन्।

  • ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

    ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

    गण्डकी, २७ असारः
    छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत ‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आउनुभएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको छ ।

    उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको हो ।

    बुधबार बेलुका सार्वजनिक उक्त गीतलाई शुक्रबार दिउँसोसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ ।

    गायक थापा र सिसन बानियाँको स्वर रहेको यस गीत अहिले युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । गीतको म्युजिक भिडियोमा गायक थापा, बानियाँ, गुराँस नानी र पेम्बा लामाको अभिनय देख्न सकिन्छ ।

    गत पुसमा सार्वजनिक गायक थापाको गीत ‘दुश्मन हेरेको हेरै’लाई पनि हालसम्म युट्युबमा १० करोड ७३ लाखभन्दा बढीपटक हेरिएको छ ।

    यही असार पहिलो साता उक्त गीतको ‘भ्यूज’ १० करोड नाघ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गायक तथा सर्जक थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिनुभएको थियो ।

  • सलमान खानलाई ‘ब्रेन एन्युरिज्म’, के हो यो रोग ?

    सलमान खानलाई ‘ब्रेन एन्युरिज्म’, के हो यो रोग ?

    हास्य कलाकार कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन सुरु भएको छ । अभिनेता सलमान खान यस कार्यक्रमको पहिलो अतिथि थिए ।

    सलमान खान आफ्नो फिल्म ‘सिकंदर’ को प्रचार गर्न शोमा आएका थिए । यस क्रममा कपिल र बाँकी टोलीले उनलाई फिल्म र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू सोधे ।

    एक प्रश्नको क्रममा सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ नामक रोगबाट पीडित भएको बताए । आफ्नो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दै सलमानले सिकंदरको छायांकनको क्रममा उनको करङमा चोट लागेको बताए ।

    उनले भने- ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौं, करङ भाँचिएका छन्, हामी ट्राइजेमिनल न्यूराल्जियासँग काम गरिरहेका छौं । मस्तिष्कमा एन्युरिज्म छ, अझै पनि हामी काम गरिरहेका छौं । अझै पनि हामी हिँडिरहेका छौं। म एक्सन गर्छु। म हिँड्न सक्दिन, अझै पनि म नाचिरहेको छु। मेरो जीवनमा यही भइरहेको छ ।’

    सलमानको यो भनाइ पछि, मानिसहरू इन्टरनेटमा ब्रेन एन्युरिज्मसँग सम्बन्धित जानकारी खोजिरहेका छन् । उनीहरुले ब्रेन एन्युरिज्म के हो र यो रोग कति खतरनाक छ ? भन्ने खोजीरहेका छन् ।

    नसा (रक्तनली) मा हुने बल्जलाई एन्युरिज्म भनिन् छ। यो बल्ज नसाहरूको कमजोरीको कारणले हुन्छ, विशेष गरी जहाँ नसा दुई भागमा विभाजित हुन्छ । जब रगत यो कमजोर भागबाट जान्छ, यसको दबाबले त्यो ठाउँलाई बाहिरतिर फुलाउँछ, बेलुन जस्तै फुल्छ । शरीरको कुनै पनि नसामा एन्युरिज्म हुन सक्छ, तर तिनीहरू दुई ठाउँमा धेरै सामान्य हुन्छन् ।

    – मुटुबाट शरीरमा रगत पुर्‍याउने धमनी ।

    – मस्तिष्क ।

    – यदि एन्युरिज्म मस्तिष्कमा छ भने, यसलाई ब्रेन एन्युरिज्म भनिन्छ ।

    ब्रेन एन्युरिज्मलाई मुख्यतया तीन वर्गमा विभाजन गरिएको छ:

    सेकुलर एन्युरिज्म

    यसलाई बेरी एन्युरिज्म पनि भनिन्छ । यो एन्युरिज्म दाखको बोटमा झुण्डिएको अंगूर जस्तो देखिन्छ । यो रगतले भरिएको गोलो थैली हो जुन मुख्य धमनी वा यसको हाँगाहरू मध्ये एकबाट निस्कन्छ । यो प्रायः मस्तिष्कको आधारमा (तल) धमनीहरूमा बन्छ । बेरी एन्युरिज्म एन्युरिज्म सबैभन्दा सामान्य प्रकारको एन्युरिज्म हो ।

    फ्युसिफर्म एन्युरिज्म

    यस प्रकारको एन्युरिज्म धमनी वरिपरि सुन्निन्छ, अर्थात्, धमनीका सबै भागहरू सुन्निन्छन् ।

    माइकोटिक एन्युरिज्म

    यो एन्युरिज्म संक्रमणको कारणले हुन्छ। जब संक्रमणले मस्तिष्कको धमनीहरूलाई असर गर्छ, यसले तिनीहरूको पर्खाललाई कमजोर बनाउँछ । यसले एन्युरिज्मको गठन निम्त्याउन सक्छ ।

    ब्रेन एन्युरिज्म नफुटेसम्म खतरनाक हुँदैन । यदि यो फुट्यो भने, यो एक धेरै खतरनाक अवस्था हो, जसलाई सबराक्नोइड हेमोरेज भनिन्छ । यसले मस्तिष्कमा रक्तस्राव निम्त्याउँछ र मस्तिष्कलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।

    अचानक, गम्भीर र असहनीय टाउको दुखाइ (मानौं कसैले तपाईंलाई टाउकोमा कडा प्रहार गरेको छ) त्यस्तै घाँटी कडा हुने, वाकवाकी र बान्ता आउने र उज्यालोमा हेर्दा दुखाइ हुने हुनसक्छ । ब्रेन एन्युरिज्म फुट्न नसक्ने अवस्थामा सामान्यतया कुनै लक्षणहरू देखा पर्दैन, विशेष गरी यदि यो सानो छ भने ।

    यदि यो ठूलो छ भने, यसले नजिकैका स्नायुहरूमा दबाब दिन सक्छ, जसले गर्दा टाउको दुख्ने, दृष्टिमा परिवर्तन वा अनुहार सुन्निने जस्ता लक्षणहरू देखा पर्दछ ।

    अनुसन्धानकर्ताहरूले रक्तनलीहरू किन कमजोर हुन्छन् भनेर पूर्ण रूपमा बुझ्न सकेका छैनन्, तर यसको लागि केही प्रमुख कारणहरू दिइएका छन् । जसमा धूम्रपान गर्नाले, उच्च रक्तचापका कारण, मस्तिष्क एन्युरिज्मको पारिवारिक इतिहास (आनुवंशिक कारणहरू), कहिलेकाहीं जन्मदेखि नै रक्तनलीहरू कमजोर हुने हुनाले, टाउकोमा चोटपटक आएमा र रक्सी र लागूपदार्थको सेवन गरेमा हुनसकने बताइएको छ ।

    मस्तिष्क एन्युरिज्म जुनसुकै उमेरमा हुन सक्छ, तर ४० वर्षभन्दा माथिका मानिसहरूमा यो बढी सामान्य हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूमा यो हुने सम्भावना बढी हुन्छ ।

    बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, इङ्गल्याण्डमा प्रत्येक वर्ष पन्ध्र हजार मानिसहरूमध्ये एक जनामा ​​मस्तिष्क एन्युरिज्म फुट्छ । अमेरिकामा आधारित ब्रेन एन्युरिज्म फाउन्डेसनका अनुसार, अमेरिकामा प्रत्येक वर्ष एक लाख मानिसहरूमा यसको आठ देखि दशवटा घटनाहरू रिपोर्ट गरिएको छ ।

    मायो क्लिनिक अमेरिकाको एक निजी संस्था हो, जसले स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्छ । संस्थाले मस्तिष्क एन्युरिज्मको बारेमा विस्तृत जानकारी दिएको छ ।

    फुटेको मस्तिष्क धमनी निको पार्न सर्जिकल क्लिपिङ, एन्डोभास्कुलर उपचार र फ्लो डाइवार्जनबाट उपचार गर्न सकिने चिकित्सकहरु सुझाउछन् ।

    एन्युरिज्मलाई रोक्न वा एन्युरिज्म बढ्ने र फुट्ने जोखिम कम गर्ने उत्तम तरिका भनेको तपाईंको रक्तनलीहरूलाई क्षति पुर्याउन सक्ने बानीहरूबाट बच्नु हो ।

    यसबाट बच्न धूम्रपान नगर्ने, धेरै तारेको र भुटेको खाना नखाने, रक्तचाप नियन्त्रणमा राख्ने र अधिक तौल वा मोटोपना नराख्ने गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

    (नोट- यस रिपोर्टमा उल्लेख गरिएका जानकारी विभिन्न ब्लग र रिपोर्टबाट जानकारी दिने उद्धेश्यले प्रकाशित गरिएको हो । स्वास्थ्यसम्बन्धी समस्या भएमा चिकित्सकको सल्लाह लिन अनुरोध गरिन्छ )

  • क्यान्सर रोगबाट थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा

    क्यान्सर रोगबाट थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा

    काठमाडौं, असार ८

    चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’की अप्सरा आमा बिरामी भएका छन् । चर्चित कलाकार लक्ष्मी श्रेष्ठ स्तन क्यान्सर लगायतका रोगबाट थलिएकी हुन् ।

    दशैंदेखि बिरामी भएकी उनलाई ४ महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । बीचमा घर र अस्पताल आउने जाने गरेपनि अहिले भने अस्पतालले फिर्ता पठाइदिएको परिवारले जनाएको छ ।
    उनी अहिले कपन बालुवाखानीस्थित घरको ओछ्यानमा थलिएकी छन् । छोरीले स्याहारसुसार गरिरहेकी छन् । दुई सातादेखि कठिन भएको र औषधि छुटाइसकेको बताइएको छ ।

    झोल खानेकुराबाहेक खाना खान पनि छाडेकी छन् । ‘मेरी बास्सै’ उनले सीतराम कट्टेल धुर्मुसले निर्वाह गरेको खड्काजीको श्रीमती अप्सरा आमाको रोल निर्वाह गरेकी थिइन् ।

     

     

  • टिकटकर रमा बस्नेत पक्राउ

    टिकटकर रमा बस्नेत पक्राउ

    काठमाडौं, असार १
    टिकटकर रमा बस्नेत पक्राउ परेकी छन्।

    खोटाङको हलेसीतुवाचुङ नगरपालिका-६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय रमा बस्नेतलाई आइतबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

    ब्युरोले आइतबार ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको भनेर प्रेस विज्ञप्ति जारी गरेको छ।

  • वर्षमा एउटा चलचित्रमा काम गर्छु : अभिनेता राजेश हमाल

    वर्षमा एउटा चलचित्रमा काम गर्छु : अभिनेता राजेश हमाल

    काठमाडौँ, २७ जेठ : 
    अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताउनुभएको छ । सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केही वर्ष म चलचित्रबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा चलचित्र वर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ ।”

    उहाँले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताउनुभयो । “अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन”, अभिनेता हमालले भन्नुभयो ।

    पुस्तकका विषयमा जानकारी दिँदै उहाँले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिनुभयो । उहाँले आठ वर्षपछि अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ यही जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन भइरहेको छ ।

  • नारायणी किनारमा मिशन रेड न्यु इएर फेस्ट : मौसमको प्रतिकुलताका बाबजुद पनि भव्यताका साथ सम्पन्न

    नारायणी किनारमा मिशन रेड न्यु इएर फेस्ट : मौसमको प्रतिकुलताका बाबजुद पनि भव्यताका साथ सम्पन्न

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, बैशाख ४ –
    युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आयोजना गरिएको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

    नारायणगढस्थित नारायणी नदी किनारमा गत चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे थियो ।

    कन्सर्ट आयोजना हुने दिन साँझ ६ बजेसम्म पानी पर्ने र हावाहुरी चल्ने भइरहेको थियो । ६ बजेपछि भने रात भरि नै मौसम सफा थियो । दिउँसो ३ बजेबाट सुरु गरी १ बजेसम्म गर्ने भनिएको कन्सर्ट पानी बन्द भएपछि साँझ ६ः३० बाट सुरु भई राति ३ चलेको थियो । मौसमको प्रतिकुलताका बाबजुद पनि कन्सर्ट सफल भएको आयोजकले जनाएको छ ।

    । १५ हजारभन्दा बढी दर्शक सहभागी गराउने गरी कन्सर्ट स्थलाई व्यवस्थापन गरिएको थियो । तर मौसमको प्रतिकुलताका कारण ६ हजार दर्शक कन्सर्टमा सहभागी भएका आयोजकले जानकारी दिएको छ ।

    कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहेको थियो । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समिर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहेको थियो ।
    युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको थियो ।

    साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रम गरिएको थियो ।

    एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका करिब १०० वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।

     

  • युवालाई रक्तदानमा उत्प्रेरित गर्न आज नारायणी किनारमा कन्सर्ट, ३ बजेबाट सुरु हुँदै

    युवालाई रक्तदानमा उत्प्रेरित गर्न आज नारायणी किनारमा कन्सर्ट, ३ बजेबाट सुरु हुँदै

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, चैत्र ३१ –
    युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आज कन्सर्ट गरिँदै छ ।

    नारायणगढस्थित नारायणी नदी किनारमा आज एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे छ ।

    कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ ।

    युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन खोजिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको छ ।

    साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । कम्तिममा १५ लाख बराबरको एप्स बनाउने तयारी गरिएको छ ।

    ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर पूरा भएको छ ।
    एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका करिब १०० वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एप मार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुबाट समेत टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएइको छ । कन्सर्ट स्थलबाट समेत टिकट खरिद गर्न सकिने छ । ६००, १२०० र ६ हजारसम्मको टिकटको व्यवस्था गरिएको छ ।

    कन्सर्टमा सहभागि भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लाबासीसहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आह्वान गरेको छ । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।