Category: Banner तल ताजा समाचार

  • सल्यानको बागचौरमा जेसीबी पल्टिदा चालकको मृत्यु

    सल्यानको बागचौरमा जेसीबी पल्टिदा चालकको मृत्यु

    सल्यान, ११ वैशाख-

    सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

    दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

    सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।- न्युज कारखाना

  • काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं, ११ वैशाख-

    काठमाण्डौको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन् ।

    दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आलेद्धय सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।- न्युज कारखाना

  • इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    रोम, ११ वैशाख-

    इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

    सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

    युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए । एजेन्सी

  • धान बेच्‍न नेपाल आउँछन् भारतीय

    धान बेच्‍न नेपाल आउँछन् भारतीय

    झापा, ११ वैशाख-

    भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलाे धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् ।

    नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ । नेपालतर्फ सीमा नजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौँ ।’

    नाकामा प्राय: धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य वारिपारका कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।

    कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् । ‘हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्वीन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’

    नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र संचालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए । उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् । ‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाईसजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’

    यहाँ मात्र हैन झापाको अधिकांश सीमा क्षेत्रमा भारतीयले नेपालतर्फ आफ्ना उत्पादन बिक्रीका लागि ल्याउने गरेका छन् ।- न्युज कारखाना

  • समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    काठमाडौँ, ११ वैशाख-
    उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

    “मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । लोकतन्त्र स्थापनका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्नुभयो । झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक सङ्घसंस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सामाजिक सङ्घसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको बताउनुभयो । “युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन”, उहाँले भन्नुभयो । मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका नेता एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।(रासस)

  • वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

    वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

    काठमाडौँ, १० वैशाख

    यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

    वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो ।

    समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने जनाउनुभयो ।

    उहाँले कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पु¥याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने उहाँको भनाइ थियो । कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उहाँले स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको कार्यान्वयनका क्रममा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न आयोगले चाँडै थप निर्णय गर्ने जानकारी पनि दिनुभयो ।

    आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सधँै प्रतिबद्ध रहेको जनाइएको छ । कानुनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत सम्बन्धित सबै सरोकारवालामा आयोगले आग्रह गरेको छ ।

    नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरूमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाअनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशनसमेत जारी गरिसकेकाले निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुने गरी सहभागिता र प्रतिनिधित्वका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील हुन आग्रह गर्दै यो निर्वाचन महिला एवं समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनीय हुने विश्वास आयोगको रहेको छ ।

    “स्थानीय तहका सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको हुन्छ भन्ने कुरा निर्विवाद छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ र ६० बुँदे निर्देशनप्रति पूर्ण प्रतिबद्धता जनाएका राजनीतिक दलका उम्मेदवारले यसको अक्षरशः पालना गर्नेमा आयोग आश्वस्त रहेको छ ।”

    राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरूपमा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३ बाई ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ‘एफो साइज’को एक रङमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न/नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लघङ्न भएको कसूरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले भनेको छ ।

    जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले आचारसंहिताले तोकेको भन्दा विपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लागो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबै मतदाताहरूमा अनुरोध गरेको छ ।

    उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा हार्दिक अपिल गर्दछ । यदि आचारसंहिताविपरीत कार्य भए/गरेको पाइएमा आयोगले कानूनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा आयोगले जानकारी गराइएको छ । (रासस)

  • गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    हेटौंडा, १० वैशाख

    सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

    हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम सिफारिस भएको थियो । एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

    गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

    ‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु । राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’ लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।
    न्युज कारखाना

  • एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

    एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

     

    भैरहवा, १० वैशाख

    नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

    सिद्धान्त र दर्शन मन परेर कसैको अनुहार हेरेर वा लाभ विना २०५४ सालदेखि नै अनवरत रूपमा रुपन्देहीको मर्चवारबाट पार्टीमा लागेको यादवले पार्टीमा अहिले विधिको शासन नभएर नक्कली प्रेम र सद्भाव पाएको बताए ।

    नक्कली रूपमा क्षेत्र इन्चार्ज बनाएर राखेको आरोप लागाउँदै अहिलेसम्म सल्लाह सुझावसमेत नमागेको भन्दै खिन्न भएर पार्टी परित्याग गरेको बताए । पार्टी विधि, विचार र सिद्धान्त अनुसार नचलेको, जिल्लाको नेतृत्वले धोका दिई केही नेताले गर्दा बाध्य भएर पार्टी त्याग्नु परेको उनले बताए ।

    रुपन्देहीको क्षेत्र नम्बर ४ बाट मेरो पालिका अध्यक्षमा आकांक्षी भए पनि अहिले केही व्यक्तिको एकल निर्णयले आफूलाई जानकारी नै नगराई कुनै प्रकारको छलफल र बहस विना नै आफूविरुद्ध भ्रामक प्रचार गरेको उनको दाबी छ ।
    न्युज कारखाना

  • महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

    महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

     

    काठमाडौं, १० वैशाख

    महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

    न्युज कारखाना

  • गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा गर्नुपर्ने बाध्यता

    गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा गर्नुपर्ने बाध्यता

    गलेश्वर, १० वैशाख-
    भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ ।

    जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर र छहरा छन् । गाउँको पुछारमा म्याग्दी नदी सललल बगिरहेको छ । बाहिरबाट पहिलो पटक गाउँमा आएका मानिसका लागि यहाँ के कुराको दुःख होला र ? जस्तो लाग्ने बगरफाँट गाउँमा गर्मी सुरु हुने वित्तिकै खानेपानीको हाहाकार नै हुने गर्दछ ।

    गाउँमा धारा छन् । बाढीपहिरो र समय समयमा ट्याङ्की तथा पाइपलाइनमा देखिने खराबीका कारणबाहेक अघिपछि ती धारामा पानी पनि आउँछ । तर त्यो पानीले स्थानीयवासीको आवश्यकतालाई पूर्ति गर्न नसक्दा पानी भर्ने र घरघरमा पाइपमार्फत पानी लैजाने निहुँमा छिमेकीसँग स्थानीयवासिन्दा झगडा गर्न बाध्य हुन्छन् ।

    बगरफाँटको खहरेखोला टोलमा सात घर परिवारका लागि एउटा धारो छ । धारोमा सानो पानी झर्छ । धारा वरिपरि पाइप असरल्ल विछ्याइएका छन् । पाइप जोडेर आफ्नो घरमा पानी लैजानका लागि छिमेकी हानथाप गर्ने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी डोलेन्द्र शर्मा (गोपाल) ले सात घर परिवारका करिब ३० व्यक्तिले दैनिक रुपमा एउटै धारो प्रयोग गर्नुपर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा सानो पानी आउँछ । सबैले धाराको पानी पाइपमार्फत आआफ्नो घरसम्म पु¥याउन खोज्छन् । त्यही पानी तरकारी र फलफूलमा सिँचाइका लागि पनि प्रयोग गर्नुपर्ने हुँदा छिमेकीको सधैँ झगडा हुने गर्दछ ।”

    खहरेखोला टोलमा मात्रै होइन, २२२ घरधुरी रहेको बगरफाँट गाउँभरि नै यस्तै समस्या रहेको स्थानीयवासी बताउँछन् । यहाँ माघदेखि जेठसम्म सधैँ खानेपानीको समस्या हुने गरेको स्थानीयवासी टीकाबहादुर कार्कीले बताउनुभयो । “वस्ती विस्तार हुँदै जाँदा पानीको समस्या उत्पन्न हुँदै गएको छ”, उहाँले भन्नुभयो, “पानीको स्रोत सुक्दै गएपछि यो समस्या आएको हो ।”

    स्थानीयवासीका अनुसार बगरफाँटका जलकुनी, आप्रे छहरो, भिरकुना, उडाइनो छहरा, जरुवालगायत ६ ठाउँका पानीका मूल सुकेपछि खानेपानीको समस्या जटिल बन्दै गएको छ । बगरफाँट गाउँ सदरमुकामदेखि नजिकै रहेको र प्रायः सबै सुविधा यहाँ उपलब्ध भएकाले जिल्लाका अरु गाउँबाट पनि बसाइ सरेर कामको खोजीमा यहाँ आउने क्रम बढेकाले पनि खानेपानीका लागि थप समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गाबहादुर थापाले बताउनुभयो ।

    बगरफाँटमा बेनी नगरपालिका–३ भकिम्ली र वडा नं २ को बगरफाँट सामुदायिक वनको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ । विसं २०६८ मा सञ्चालनमा आएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना १० वर्ष नबित्दै जीर्ण बन्दै गएको र मर्मत सम्हारको अभावमा पानीको चुहावटसमेत हुने गरेको स्थानीयवासीको गुनासो छ । साविकको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र स्थानीयवासीको श्रमदान गरी करिब रु ६० लाखको लागतमा निर्माण भएको सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि अहिले समस्या देखिएको हो । आयोजना पूर्णरुपमा उपभोक्ता समितिकै स्वामित्वमा रहेको छ । अहिले सो समिति पनि निस्क्रिय अवस्थामा रहेकाले पाइपलाइनमा समस्या देखिएको छ । समयमा मर्मत कार्य नहुँदा खानेपानीको समस्या झन विकाराल हुँदै गरेको स्थानीयवासीको भनाइ छ । (रासस)