अनुसन्धान नसकिँदै अरुण चौधरीलाई हिरासतमुक्त गर्न आदेश दिने न्यायाधीश कारबाहीमा

  • Home
  • -
  • Banner
  • -
  • अनुसन्धान नसकिँदै अरुण चौधरीलाई हिरासतमुक्त गर्न आदेश दिने न्यायाधीश कारबाहीमा
अनुसन्धान नसकिँदै अरुण चौधरीलाई हिरासतमुक्त गर्न आदेश दिने न्यायाधीश कारबाहीमा

काठमाडौँ, २९ माघ
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश कारबाहीमा पर्ने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरूप आइतबार मुगुमा काज सरुवा गरेको स्रोतले बतायो । स्रोतका अनुसार न्यायाधीश आचार्यको सम्पत्ति पनि अनुसन्धान हुने भएको छ ।

गत साता सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए ।

व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए ।

अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न उठ्दै आएको छ । पैसा र पावरमा चौधरीलाई रिहा गरेको न्यायालयमाथि आरोप लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित तत्कालीन अजितनारायण सिंह थापा र ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालतले सुरुमा ४ दिनको म्याद दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *