प्रचण्ड आफू उपस्थित हुँदाहुँदै विधेयक पेश गर्न ‘खेताला’ खटाएको भन्दै एमालेको नियमापत्ति

  • Home
  • -
  • Banner
  • -
  • प्रचण्ड आफू उपस्थित हुँदाहुँदै विधेयक पेश गर्न ‘खेताला’ खटाएको भन्दै एमालेको नियमापत्ति
प्रचण्ड आफू उपस्थित हुँदाहुँदै विधेयक पेश गर्न ‘खेताला’ खटाएको भन्दै एमालेको नियमापत्ति

काठमाडौं  चैत ५,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् बैठकमा उपस्थित भएर पनि विधेयक पेश गर्न अर्को मन्त्रीलाई खटाएको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।
आइतवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्, काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची थियो ।

‘प्रधानमन्त्री उपस्थित नभएका कारण’ भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीका तर्फबाट सञ्चार मन्त्री रेखा शर्मालाई विधेयक प्रस्तुत गर्न अनुमति दिए ।

प्रधानमन्त्री संसदमै रहेका बेला उनका तर्फबाट मन्त्री रोस्ट्रममा पुगेपछि एमाले सांसदहरूले आपत्ति जनाए ।

‘प्रधानमन्त्री नै उपस्थित भएको बैठकमा सभामुखले प्रधानमन्त्रीलाई निर्देश गर्नुपर्‍यो,’ एमाले सचिव योगेश भट्टराईले नियमापत्ति गर्दै विरोध जनाए ।

त्यसपछि एमालेकै रघुजी पन्तले प्रधानमन्त्रीले संसद्को अवहेलना गरेको आरोप लगाए ।

‘सरकार बनाउने यो संसद्को गरिमा त्यो बेला रहन्छ, जतिबेला सरकारले संसद्को सम्मान गर्छ । प्रधानमन्त्री उपस्थित भएर मन्त्रीलाई काम लगाउनु संसद्लाई अवहेलना हो । आफ्नो विधेयक आफैं पेश गर्न रुलिङ होस्,’ पन्तले भने ।

तर, सभामुख घिमिरेले मन्त्री शर्मालाई नै विधेयक पेश गर्न अनुमति दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *