६ असोज, दाङ ।
शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो ।
छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।
घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।