कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला
कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला

कञ्चनपुर, २० फागुन –

बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उनले भने, “यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।” यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ ।

सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रुपमा खाने गरेको छ । स्थानीयवासीको घर नजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रुपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

सर्प विज्ञहरुका अनुसार यस्तो प्रजातिको सर्प रातिका बेला आहारका लागि बढी सक्रिय हुने गरेको छ । यस्तो सर्प दिउँसो रूखको टोड्का र दुलोमा बस्ने गर्दछ । यस प्रजातिका सर्प नेपालसहित भारत, बङ्गलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *