पर्यटक बढन थालेसँगै होटलको हब बन्दै बाँके

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • पर्यटक बढन थालेसँगै होटलको हब बन्दै बाँके
पर्यटक बढन थालेसँगै होटलको हब बन्दै बाँके

बाँके, माघ ८-
पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ ।

नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ ।

जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् ।

पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो ।

मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् ।

होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए ।

आफूहरूले पनि दुई हजार जना क्षमताको ब्याङ्केट हल बनाइसकेको बताउँदै नेपालगञ्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *